नारायणकाजीको आक्रोशः विखण्डनकारी नारा र जुलुस असह्य

Nabin Karki

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्नुपर्छ भनी माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सो माग गरेका हुन् ।

उनले आफ्नो ट्वीटमा भनेका छन्ः आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।

ट्वीटमा उनले ‘गम्भीर बनौं’ भनी सचेत समेत गराएका छन् ।

गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।

स्मरणीय रहोस्, सो सहमतिको सन्दर्भमा आयोजित कार्यक्रममा पनि नारायणकाजी लगायत सत्तारुढ नेकपाकै थुप्रै शीर्षस्थ नेताहरु सहभागी थिएनन्, जसलाई उनीहरुले त्यो समारोहको वहिष्कार गरेका हुन् भनी अर्थ लगाइएको थियो ।

 

Leave a comment