नेपालमा अब भारतीय १००को नोट मात्र वैध

नेपालमा अब १ सय भारतीय रुपैयाँ मात्र चल्ने भएको छ । २००, ५०० र २००० सय चलाउन भारतले प्रतिबन्ध लगाएपछि सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय २००, ५०० र २००० को नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बताए। यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो।

सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ। यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन्। त्यस्तो रकम सावाँ मात्र ३९ करोड ३९ लाख थियो। ब्याज करिब एक अर्ब रुपैयाँ छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ। नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ।

खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

Leave a comment