प्रधानमन्त्री कार्यालयले १३ दिनमा खर्च गर्‍यो ५ लाख रुपैयाँभन्दा बढीको इन्धन

काठमाडौ असोज ३० – कुनै एउटा कार्यालयका कर्मचारीले गाडीमा महिनाको कति तेल खर्च गर्छन् तपाईले अनुमान लगाउनु भएको छ ? एक लाख, दुई लाख या त्यो भन्दा पनि बढी ? तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आश्विन महिनाको १३ गतेसम्ममा पाँचलाख भन्दा बढीको इन्धन खर्च गरिसकेको छ । असोज २८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको बील अनुसार नेपाली सेनाले सञ्चालन गरेको श्री रिपुमर्दनी पेट्रोल स्टेशनले पाँच लाख ४१ हजार चारसय २७ रुपियाँको बील मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको छ ।

१३ दिनमा मात्र पाँच लाखभन्दा बढीको इन्धन खर्च गर्नु बढी भएन र ? यो जिज्ञासा रातोपाटीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव क्षेत्रबहादुर भण्डारी समक्ष राखेको थियो । उनले उल्टै भने ‘यो त थोरै भयो, अरु धेरै हुनसक्छ, यो प्रधानमन्त्रीको कार्यालय हो, यहाँ कति गाडी प्रयोग हुन्छन् कुनै तथ्यांक छैन् ।’ कुनै महिनामा बढी र कुनै महिनामा कम पनि हुने गरेको उनले प्रतिकृया दिए । जब कि त्यो कार्यालयमा सबैका लागि कति तेल दिने भनि तोकेका छन् ।

bijuli-(1)

सहसचिव भण्डारीले दिएको तथ्यांक अनुसार प्रधानमन्त्रीका लागि महिनाको ३०६ लिटर, प्रधानमन्त्रीका लागि सुरक्षा दिने अगुवा पछुवाका लागि पनि ३०६ लिटर, मुख्य सचिव १०० लिटर, सचिव (चार जना) १०० लिटर, सहसचिव (छ जना) ७२ लिटर, उपसचिव (१८ जना) ५० लिटर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव १०० लिटर, प्रधानमन्त्रीका सल्लाहकार (छ जना) १०० लिटर लिने गरेका छन् । यसको हिसाब गर्दा जम्मा तीनहजार ४४ लिटर तेल हुन आउँछ । जसको मुल्य चार लाख चारहजार ८५२ रुपियाँ हुन जान्छ । यो एक महिनाको हिसाब हो । जबकि असोज महिनामा १३ दिनको मात्र पाँचलाख ४१ हजार चारसय २७ रुपैयाँको बील पेस भएको छ ।

आर्थिक प्रशासन शाखाका उप सचिव लक्ष्मण प्रसाद खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ७२–७३ वटा जम्मा गाडी प्रयोग गर्छन् तर कहिले काम पर्दा बढी पनि हुने गरेको बताए । कर्मचारी ल्याउन लैजान दुईटा बस छन् । अरु थप गाडी थपिए पनि एक दुई लाखको फरक पर्न सक्छ तर यहाँ दोब्बर भन्दा बढीको फरक देखियो भनि जिज्ञासामा सहसचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयमा हुने इन्धन खर्चको विवरण राख्न सकिए पनि बालुवाटारको विवरण राख्न गाह्रो भएको बताए । बालुवाटारमा तोकेको भन्दा बढी गाडीहरु प्रयोग भइरहेका हुन्छन् प्रधानमन्त्रीको आदेश हुन्छन् त्यसमा हामीले नाई भन्न पनि मिल्दैन, उनले भने, कहिले काही पार्टीको बैठक हुँदा नेताहरुलाई ल्याउन पनि त्यहीको गाडि प्रयोग हुन्छ, दलहरुको बैठक हुँदा पनि कुनै नेतालाई लैजान ल्याउन त्यहीको गाडी प्रयोग हुन्छ । प्रधानमन्त्री मन्त्रीका स्वकीय सचिवहरुले पनि गाडी प्रयोेग गरिरहेका छन् सबै यतैको खर्चबाट जान्छ त्यसले गर्दा पनि बढी देखाएको हुनसक्छ ।

उनले भने, हामीसँग भएको गाडीको तथ्यांकभन्दा बढी गाडिहरु प्रयोग भइरहेको हुनाले इन्धन खर्च बढी देखाएको छ । र, त्यही कारणले पनि महिनाको कति इन्धन खर्च हुन्छ त्यसको पनि यकिन तथ्यांक राख्न नसकेको उनले बताए ।

उता, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको बयान भने फरक छ । नाम नबताउने सर्तमा उनले भने, ‘यो त दशैंले गर्दा हो सर । दशैंमा आफ्ना परिवार ओसार्न सरकारी गाडीको व्यापक दुरुपयोग गरिएको छ । त्यही भएर बिल बढी आएको हो ।

Leave a comment