नायिका स्वेता खड्कालाई खुल्ला पत्र , के छ पत्रमा ?

प्रिय बहिनी श्‍वेता,

बिहानबिहानै कुनै एउटा अनलाइनमार्फत ‘श्रीकृष्णको उपचारको क्रममा निधन’ भन्‍ने समाचार पढेदेखि खलबलिएको यो मन आजसम्म स्थिर भएको छैन। अझ तिम्रो मनभित्रको भुइँचालो, एक्लोपन, नैराश्यता र रोदनलाई म अनुमान लगाउनमात्र सक्‍छु।

जीवन अनित्य छ, यो सत्यलाई मान्छेले सजिलै आत्मबोध गर्न सक्दैन। यो तिम्रो वा मेरो कुरा होइन, सम्पूर्ण मानवले आफ्नो प्रियजन गुमाउनुपर्दा केही समय विचलित हुन्छ नै। झन् श्रीकृष्ण श्रेष्ठ नामको व्यक्तित्व त तिम्रो लागि मात्रै होइन, सबैका लागि प्रिय थिए, नेपाली रजतपटको एक चम्किलो तारा।

अब मन बुझाउने बाटो भन्नैपर्नै हुन्छ, उनी भगवान्को पनि प्रिय रहेछन्। सडकमा हिँड्दा जताततै कोहिनुरको पोस्टरमा हाँसिरहेको देखिन्छ। फेसबुक, ट्विटर, लेख, रचनामा बाँचिरहेको देखिन्छ अनि कसरी भन्नू उनको मृत्यु भएको छ।

बहिनी, तिम्रो श्रीमान्को मृत्यु भएको छैन, उनी अमर बनेका छन्। उनी अमर छन् भन्ने कुराको प्रमाण शवयात्रामा उर्लिएको त्यो मानवसागर हो। शवयात्राको उर्लिंदो मानवसागरको बीचमा लुखुरलुखुर म पनि थिएँ।

तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्नसक्ने र तिमीलाई सम्हाल्नसक्ने हिम्मत ममा थिएन। त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ।

लडाइँमा युद्ध हारेको सिपाहीझैं श्रीकृष्णको पार्थिव शरीर बोकेको गाडीको पछिपछि, यो पाइला चलिरह्यो। बेलुकी ७ बजेतिर आर्यघाट पुगियो। त्यहाँ पनि श्रीकृष्णका शुभचिन्तक खचाखच भरिएका थिए। कुनै बेला त्यही ठाउँ सुनसान, उजाड लाग्थ्यो तर त्यो दिन त्यही घाट साँघुरो भएको थियो।

मैले अचानक सम्‍झिन पुगेको विगत कुनै काल्‍पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौ, एउटै विद्यालयमा शिक्षाको ज्‍योति पायौ, एसएलसी गर्‍यौ।
पाइला टेकेर उभिने ठाउँ कहीँ थिएन। सक्ने भए त्यो भीडले हाम्रा प्रिय श्रीकृष्णलाई यमराजको मुखबाट थुतेर ल्याउँथ्यो। नजिकैको पुलमा सञ्चारकर्मीको भीडमा बसेर बेहोसीमै तिमीले अञ्जुलीले पानी खुवाएको अनि प्रेमपूर्वक एकोहोरो उनैलाई पुकारिरहेको दृश्यको साक्षीमात्र बन्‍न सकेँ।

तिम्रो नजिकै गएर ‘नानु नरोऊ’ सम्म भन्‍न सकिनँ। किनकि यो बज्रपात यस्तो हो जसले भोगेको छ, उसले मात्र अनुभूत गर्न सक्छ। तिमी रुँदै थियौ, कराउँदै थियौ, आर्यघाटमा उर्लिएको शुभचिन्तक तथा सर्वसाधारण पनि तिमीसँगै रुँदै थिए।

त्यो भीडमा कोही भन्दै थिए, ‘विचरी साह्रै अभागी रैछिन्, कोही भन्दै थिए गर्भवती छे रे !’ त्यो ठेलमठेलको भीडमा भलाकुसारीका अपाच्य शब्दहरू मेरो कानमा ठोक्किएपछि मलाई त्यसप्रति आपत्ति भयो तर माहोल प्रतिवाद गर्नसक्ने थिएन।

बहिनी, हामीले आफूले आफैंलाई परिवर्तन गर्न सजिलो छ तर सदियौंदेखिको सामाजिक मूल्यमान्यता तथा अन्धविश्‍वासलाई सजिलै परास्त गर्न सकिँदैन। समाजले त के भन्दो रहेछ, के भन्दो रहेनछ। जताबाट हावा आउँछ त्यतै पात हल्लिएझैं हल्लिन्छन्, यहाँका मान्छेहरू।

श्रीकृष्णजीको पार्थिव शरीरलाई निष्ठुरी आगोले जलाउँदै गर्दा हेर्न नसकेर अझ भावविह्वल भएकी तिमी र ८२ वर्षीया आमालाई सहयोगीहरूले बाहिर लिएर गए, म भने त्यही पुलको छेउमा बसी विगतलाई सम्झन पुगेछु।

मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौं, एउटै विद्यालयबाट शिक्षाको ज्योति पायौं, एसएलसी ग:यौं। हामीले पढेको स्कुल एउटै, पढाउने गुरुहरू एउटै, फरक थियो त केवल हाम्रो दैनिकी तथा तिमी र मबीचको उमेरमात्रै।

उमेरले म तिम्रो दिदी त तिमी मेरी बहिनी। त्यो गाउँठाउँमा तिम्रो बुबालाई बालकदेखि वृद्धसम्मले ‘जमदार बा’ भनेर चिन्थे। कलाकारका रूपमा प्राय: टेलिशृंखला ‘हिजोआजका कुरा’मा देखिने उनै चर्चित पात्र जमदार बाकी प्रिय छोरी तिमीलाई के खाऊँ, के लाऊँ भन्‍ने कहिल्यै चिन्ता भएन, मात्र आफ्नो पढाइमा कसरी उत्कृष्ट हुने भन्नेमा तल्लीन रह्यौ।

त्यसकै फलस्वरूप विद्यालयको पढाइ सकेर इन्जिनियरिङ पढेर सानै उमेरमा इन्जिनियर बनी आफ्नै खुट्टामा उभिएकी तिमीले कलाकारिता क्षेत्रमा पाइला बढाएको सुनेर खुसी लागेको थियो। किनकि कलाका पुजारी बाबुकी छोरी तिमी कला क्षेत्रमै आयौ। काभ्रे जिल्लाको इज्जत बढायौ।

२०५३ सालमा एसएलसी परीक्षा दिएर सहर छिरेपछि मेरो आफ्नै व्यक्तिगत कारणले गाउँ पातलो जान थालेँ र तिमीसँग भेट हुन सकेन। एकैचोटि मेरो भेट तिमीसँग २०६६ सालमा काठमाडौंमा भयो, जति बेला तिमीले सिनेजगत्मा आफ्नो नाम स्थापित गरिसकेकी थियौ।

यो भेटमा तिमीले रक्षा नेपालले चालेको कदमप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै संस्थाको सदस्यता लियौ र यौनजन्य हिंसापीडित/प्रभावित दिदीबहिनीको पक्षमा उभिने प्रण गर्‍यौ। सानै उमेरमा तिमीभित्र आएको त्यो व्यावहारिक परिपक्वता, सादा जीवन अनि सधैंको हँसिलो मुहारले तिमीलाई भेट्दा छुट्टै आनन्द पाउँथेँ म।

तर, त्यो हँसिलो मुहारमा एक्‍कासि छाएको कालो बादलले म पनि मर्माहत भएकी छु। हुन त हामीले सोचेजस्तो जीवन हुँदैन भन्ने थाहा छ तर यो मन कहिलेकाहीँ अबुझ बन्ने रहेछ। श्रीमान्को असामयिक वियोगमा रहेकी तिमीलाई भेट्ने तीव्र चाहनाअनुसार श्रीकृष्णको स्वर्गारोहण भएको सातौं दिनमा मात्रै साहस बटुलेर तिम्रो घरतिर पाइला बढाएँ।

मनमा अनेक कुरा तँछाडमछाड गर्दै रहे। मेरो मनले भन्दै थियो, ‘मेरी प्रिय बहिनी सेतो कपडा बेरेर एउटा कुनामा बसेकीहोलिन्, त्यो दृश्य कसरी हेर्नु?’ खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु तर बाध्यतावश एउटी महिलाले शिरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिनँ।

त्यसैले तिम्रो घरको आँगनमा पुग्नेबित्तिकै मन ढक्क फुलेको थियो। मुटुको ढुकढुकी पनि बढिरहेको थियो। एकजना दाइको सहारामा सरासर तिमी बसेको कोठामा गएँ। तिम्रो हालत उस्तै थियो, भेट्न आउनेको घुइँचो थियो तर तिम्रो शरीरमा सेतो कपडा रहेनछ। त्यो देख्नेबित्तिकै मलाई छुट्टै खुसी मिल्यो। द्रूत गतिमा बढिरहेको मेरो ढुकढुकी कम भयो।

विविधतामा एकता भएको हाम्रो मुलुकमा एक सयभन्दा बढी जातजाति तथा भाषाभाषी छन्। उनीहरू सबैको आफ्नै संस्कार छ। हुन त मलाई कुनै पनि जातजाति र भाषाभाषीको रीतिरिवाज, संस्कार तथा परम्पराका बारेमा पूर्ण रूपमा जानकारी छैन।

सबै भाषा, जात, लिंग, धर्मलाई म हृदयदेखि नै सम्मान गर्छु तर त्यो दिन तिमीलाई छुन पाउँदा, सँगै अँगालेर बस्न पाउँदा अनि तिम्रो शरीरमा सेतो पहिरन देख्नु नपर्दा साँच्चै खुसी लाग्यो अनि नेवार समुदायको संस्कारप्रति गर्व पनि लाग्यो।

त्यो दिन केही क्षण बसेर छुट्टिएको मैले आजसम्म तिमीलाई फोन गर्ने वा भेट्ने आँट गरेको छैन। अन्य सर्वसाधारण नेपालीजस्तै तिम्रोबारेमा मिडियामा छाएका खबरबाट नै अपडेट हुँदैछु।

म तिमीले अश्रुधारा बगाएको तस्बिर हैन, पहिलेजस्तै गरी मस्त हाँसेको मुहार हेर्न आतुर छु अनि एक्लाएक्लै रोएर घरभित्रै बस्ने श्वेता हैन, शोकलाई शक्तिमा बदलेर ऊर्जाका साथ कर्मक्षेत्रमा समर्पित बनी अन्य महिलाका लागि समेत प्रेरणादायी बन्नसक्ने बहिनीको पर्खाइमा छु।(लेखिका रक्षा नेपालका अध्यक्ष हुन्।)

Leave a comment