गङ्गामायालाई अनसन तोड्न आग्रह गर्दै समिति गठन

Pashupati Biscuits

काठमाडौँ, असोज ३०– सरकारले वीर अस्पतालमा अनसनरत गोरखाकी गङ्गामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्रँदै गएको यथार्थलाई आत्मसाथ गरी आमरण अनसन तोड्न पुनः आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिकारीलाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न र खाना खाईदिन अनुरोध गरेको छ ।

गङ्गामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न तत्कालीन माओवादी कार्यकर्तालाई कारवाहीको माग गर्दै झन्डै एकवर्षदेखि आमरण अनसन बस्दै आएका छन्

यसैबीच गङ्गामायाको स्वास्थ्यप्रति चिन्तित हुँदै राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारसम्बन्धी सङ्घसङ्स्था तथा कानुन व्यवसायीहरुबाट प्राप्त सुझाव र सल्लाह समेतलाई मध्यनजर गरी एक उच्च स्तरीय समिति गठन गरिएको छ ।

अधिकारीको स्वास्थ्यस्थितिको नियमित रेखदेख गर्न र यस सम्बन्धमा नेपाल सरकारलाई उपयुक्त राय सुझाव दिन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव सदस्य रहेको उच्चस्तरीय समिति गठन गरिएको सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

साथै रत्नपार्कस्थित शान्ति बाटिकामा आमरण अनशन बसेका द्वन्द्व पीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका सदस्यहरुसँग वार्ता गरी आन्दोलन अन्त्य गराउन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको सयंोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन गरेको र जारी अनसन अन्त्यगरी वार्ताबाट समस्याको समाधान गर्न प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ ।

Leave a comment