“आकाश रुँदै छ, मज्जा लाग्दै छ”

भक्तपुर, आश्विन ३० – रातो जम्परमा उनी खुलेकी थिइन् । पावरवाला मोटो चस्मा नाकले खुम्च्याउँदै झ्यालको छेउतिर एकटक हेरिरहिन् । त्यसपछि खुट्टाका औंलाको सहाराले कापीमा लेखिन्, ‘आकाश रुँदै छ, मलाई मज्जा लाग्दै छ ।’jhamak

मंगलबार दिनभरि परेको झरीले साहित्यकार झमक घिमिरेलाई निकै छोएको थियो । उपचारका क्रममा धनकुटाबाट काठमाडौं आएकी उनी बालकोटस्थित झमक घिमिरे साहित्यकला प्रतिष्ठानको एउटा कोठामा मौसम र साहित्यको वर्णन गर्दै थिइन् ।

छेउमा ग्यास चुलो, तरकारी टोकरीमा भर्खरै ल्याएको साग र केही स्याउ थिए । एकै कोठामा खाने र बस्ने बाध्यता रहेछ । तीन कोठा रहेको प्रतिष्ठान आर्थिक अभावका कारण भाडा तिर्न नसकेपछि एक कोठामा बस्नुपरेको झमकले लेखेर बताइन् ।

केही शारीरिक अस्वस्थता देखिए पनि झमकको मन चाहिँ बिरामी थिएन । उनी झरीलाई विम्ब बनाउँदै साहित्यमा उतार्ने जमर्को  गर्दै थिइन्, ‘हिजोअस्ति कञ्चन आकाशलाई पढ्दै थिएँ, अहिले म पानीका थोपालाई पढ्दै छु ।’ उनी लेखेका आफ्नै शब्द पढेर रमाइलो मान्दै पनि थिइन् । धेरै खुसी हुँदा उनी भुइँमा लुटपुटिएर हाँस्ने रहिछन् । रिसको बेला कस्तो प्रतिक्रिया हुन्छ होला ? यो सुनेपछि झमकले आमातर्फ हेरिन् ।

छोरीको इसारा बुझ्न सिपालु आशादेवीले झमक रिसाउँदा निन्याउरो अनुहार पार्दै एकोहोरो मुखमा हेर्ने बानी रहेको सुनाइन् । ‘ऊ प्रायः रिसाउँदिन, रिसाइहाली भने पनि धेरै बेर टिक्दैन,’ आमाले भनिन्, ‘रमाइलो गर्ने बानी छ ।’

पुस्तक पढ्न र भावना कोर्न उनलाई कुनै निश्चित समय छुट्टयाउनु पर्दैन । जति बेला मनले पढ्न चाह्यो उति बेला सुरु गरिहाल्ने बानी छ । उनी काठमाडाै आएको सूचना पाएपछि धेरै व्यक्तिले नयाँ पुस्तकहरू उपहारदिएका रहेछन् । उनी अरू विषयमा जति रमाइलो मान्छिन्, लेखाइपढाइमा त्यति गम्भीर हुने रहिछन् ।

आफू पछिल्लो समय प्रविधिसँग नजिक हुन थालेको झमकले खुलाइन् । खुट्टाकै भरमा मोबाइल फोन चलाउने गर्छिन् । पाठकका प्रतिक्रियाहरूको जवाफस्वरूप खुट्टाकै औंलाले एसएमएस लेख्ने गर्छिन् । त्यस्तै, फेसबुक चलाउन उनलाई निकै मन पर्छ । फेसबुकमा आफ्ना भावना साट्नु उनको अर्को दैनिकी भएको छ अचेल । सामाजिक सञ्जालको विकासले हरेकले यो सुविधा पाएको उनले जनाइन् र लेखिन्, ‘यसलाई सबैले सदुपयोग गर्नुपर्छ ।’

पछिल्लो कृति ‘समय विम्ब’ निकालेकी झमकका अब छिट्टै कविता र निबन्ध संग्रह आउँदै रहेछन् । उनका अनुसार, कविता संग्रह सिक्किमबाट छापिने भएको छ । त्यस्तै, मुक्ति बरालले उनीबारे फिल्मको योजना बनाएको जनाउ दिँदै उनले लेखिन्, ‘यो निकै जोखिमपूर्ण काम हो । किनकि झमकको जीवन भोग्न, लेख्नमा जति जटिलता थियो, उत्ति दृश्यमा उतार्न सहज हुन्न । जोखिमपूर्ण काम आँट्दै छौं । हेरौं, कत्तिको सफल भइन्छ ।’

झमकले पछिल्लो समय प्रतिष्ठानलाई व्यवस्थित बनाउन आर्थिक, भौतिक समस्या देखिएको खुलाइन् । उनका अनुसार, ‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्तको रोयल्टी र केही सहयोगले मात्रै चले पनि प्रतिष्ठानको समस्या जस्ताको तस्तै छ ।

झमक आमासँग बुधबारै धनकुटा फर्केकी छन् । ‘उपचार गर्न भारत लैजानुपर्ने डाक्टरले भनेका छन्,’ आशादेवीले भनिन् ।

‘नगरकोट गएकी छैन’

झमकलाई भेट्न मंगलबारै युवा व्यवसायीहरू शोभन सैंजू र सुरेश लामिछाने बालकोट पुगेका थिए । केही कपडा प्रदान गरेपछि आईसीटी एसोसिएसन अफ नेपालका महासचिव सैंजूले झमकका लागि अबदेखि काठमाडौं आएका बेला आफ्नो घरमा खानेबस्ने प्रबन्ध मिलाउने प्रस्ताव गरेका थिए । झमकले हाँसेर जवाफ लेखेकी थिइन्, ‘चासो राख्नुभएकोमा धन्यवाद । मलाई अहिले पनि त्यति अप्ठयारो छैन ।’

सैंजूले उनलाई उपत्यकाका पर्यटकीय स्थलहरू घुम्न इच्छा लागे आफूले पुर्‍याइदिने पनि बताएका थिए । राजधानीका सबैजसो स्थान घुमेको उल्लेख गर्दै झमकले लेखेकी थिइन्, ‘धुलिखेल पनि गएकी छु । नगरकोटचाहिँ गएकी छैन ।’ अर्कोचोटि आउँदा नगरकोट घुमाइदिने सैंजूको कुरा सुनेपछि उनी मज्जाले हाँसेकी थिइन् ।

‘उहाँको लागि आफू कुनै न कुनै रूपमा सहयोगी हुन सकूँ भन्ने मेरो चाहना हो,’ सैंजूले भने, ‘तर, गजबको स्वाभिमानी हुनुहुँदो रहेछ ।

Leave a comment