गाडामा मोटरसाइकल ठोक्किँदा दुई घाइते

लहान, भदौ २० –

            पूर्वबाट पश्चिमतिर जाँदै गरेको मोटरसाइकल गाडामा ठोक्किँदा शुक्रबार बिहान सिरहाको पडरियामा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक उदयपुरको त्रियुगा नगरपालिका–२ का ३० वर्षीय दीपेश कार्की र उनको पछाडि रहेका २५ वर्षीय सचिन कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार घाइते दुवै जनाको दाहिने खुट्टा भाँचिएको छ ।

बिहान ३ः३० बजेतिर पश्चिमतिर जाँदै गरेको मोटरसाइकल उही दिशामा रहेको गाडालाई पछाडि ठोक्किएपछि मोटरसाइकलमा रहेका दुवै जनाको खुट्टा भाँचिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घाइते दुवै जनालाई लहानमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर पठाइएको छ । गाडामा रहेका सिरहाको फूलकहाकट्टी गाविस–७ जयपुरका ६० वर्षीय रामअशिष महतो भने सामान्य अवस्थामा रहेका छन् । गाडाको पछिल्तिरको भागमा क्षति पुगेको प्रहरीले जनाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको छ ।

Leave a comment