तीजको तीर: सिमरन मैसाबले दर खाइस्यो

  • कुसुम भट्टराई

kushum bhattraiबुधवार राती अबेरसम्म बसेर सिमरन मैसाबले टन्न ‘दर’ खाइस्यो । दरमा उही घिउ हालेको भात, मासुका विभिन्न परिकार, तिन थरी तरकारी, तिन थरी अचार, प्राउन फ्राई, दही, मिठाई के के हो के के । मैसाबले रेड वाइनको चुस्की पनि लाइस्यो ।

मैसाबको प्रीय कुकुर्नी ‘जुलीया’ले पनि दर खाइस्यो । जुलीयाले दर खाएको देखेर काजी साहेबको कुकुर ‘टाइगर’ इश्र्याले जलिस्यो । ङार ङुर गरिस्यो । अन्तत: काजीसाब अर्को कोठाबाट तास खेल्दा खेल्दै छाडेर आएर कराइस्यो, टाइगरले पनि ह्डडी पाइस्यो र रातभरी त्यही चबाइस्यो ।

कल्पना म्याडमले यसपाली दश तोला सुनबाट बनेको छड्के तिलहरी ढल्काएर नाच्ने योजना बनाएकी छिन् । घाँटीमा पाँच तोलाको जन्तर पनि झुण्डिने छ । अनि शिरमा चार तोलाको शिरफुल नहुने कुरै भएन । विस हजारको साडी आइसक्यो । यसरी हेर्दा म्याडमको तीजको तामझाम दश लाख रुपैयाँ भन्दा घटीको हुने भएन । त्यो कुरा छिमेकी सरला म्याडमको कानमा पुगिसकेको छ । त्यसैले कल्पना म्याडमलाई काउन्टर दिन सरला म्याडमले पनि पन्ध्र तोलाको छड्के तिलहरी लगाउने तयारी गरेकी छन् । तीजमा यसपाली गतिलै फेसन शो हुनेवाला छ ।

महिला अधिकारकर्मी म्याडम श्रृष्टीले यसपाली तीजका लागि भनेर लामै कार्यपत्र तयार गरेकी छन् । तीजका विकृतीबारे तयार पारिएको त्यो कार्यपत्र प्रस्तुत गरेपछि भव्य ककटेल पार्टी पनि हुनेछ । त्यसमा आइटम डान्स पनि छ रे । श्रृष्टी म्याडमकै तजविजमा खर्च हुन्छ, महिला शसक्तीकरणका नाममा आउने डलर । हुन पनि महिला शसक्तीकरणका लागि उनले धेरै योगदान पनि गरेकी छन् ।

महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउने विषयमा हालसम्म तिन दर्जन कार्यपत्र लेखेर उनी आफै आर्थिक सम्पन्न भएकी छन् । महिलामाथिको हिंशा कसरी रोक्ने भन्नेबारे उनले बनाएको डकुमेन्ट्री युट्यूबमा एक लाखभन्दा बढीले हेरीसकेका छन् । त्यति मात्र कहाँ हो र ? पेटभरी खान र लाउन नपाएका नेपाली महिलालाई उनले चर्पीमै शौच गर्न र साबुन पानीले हात धुन सिकाएकी छन् । भलै साबुन किन्ने पैसा होस् नहोस् । विभिन्न जिल्लालाई खुला दिसामुक्त क्षेत्रका रुपमा परिणत गरेर उनले नयाँ दिसा (दिशा) दिएकी छिन् । नेपाली महिलामाथि हुने दाईजो, कमलरी, छाउपडी आदि अत्याचारी प्रथा रोक्न उनले पाँचतारे होटलमा बहस पनि चलाइन् । त्यो बहस निकै प्रभावकारी भयो । आइएनजीओबाट डलर झन् बर्सीयो ।

यद्यपी, उनले केही दिनअघि आफ्नै घरमा काम गर्ने बाह्र वर्षीया बालिकालाई निर्घात कुटेको समाचार पनि प्रकाशीत भएको थियो । त्यसबारेमा उनले भनेकी थिईन्, ‘त्यो सबै पितृ सत्तात्मक मानसीकताले भरिएका कुतत्वहरुले फैलाएको भ्रम हो । मैले मेरो घरमा काम गर्ने केटीलाई पिटेको हैन, यसो दुई चार झापड दिएर छोरीलाई झैं सम्झाएको मात्र हो ।’

पत्रकारले सोधे, ‘नाबालिक केटीलाई काममा लगाउनु बालश्रम शोषण भएन ?’ त्यसमा उनको जवाफ थियो, ‘मैले छोरीजस्तै गरेर पालेकी हुँ । अब आफै काम गर्छु भन्छे भने मैले के गर्ने ?’

म्याडम संगीताका पति देशभक्तले यसपाली राशन ठेक्कामा दरीलै कमीशन खाइस्या छ । देशभक्तजीले हात हतियार खरिदमा पनि मोटो घोटाला गरिस्या छ । त्यसैले म्याडम सँगीता पनि रमाइस्या छ । साउनमा ब्रत बसेकाले पतिले टन्न कमाएको भन्ने म्याडमले ठानीस्या छ । प्रभुकै कृपा हो भनी पुकारीस्या छ । त्यसैले तीजमा पनि ब्रत बस्ने तयारी गरिस्या छ । म्याडमलाई तीजमा भ्याइ न भ्याई छ । विभिन्न पार्टी प्यालेसहरुमा आयोजना हुने कार्यक्रममा निम्तो छ । म्याडमसँग सयौं साडी छन्, तर कुन साडी लगाउने भनेर अन्यौलमा परेको सात दिन भइसक्यो । यसपाली पनि म्याडमले पोहार साल झैं ‘मुन्नी बदनाम हुई डार्लीङ तेरे लिए’ गीतमा नितम्ब हल्लाई हल्लाई नाच्ने मुड बनाइस्या छ ।

सीमरन, कल्पना, सरला, श्रृष्टी र संगीता म्याडमहरु सबैलाई तीज आएको छ । तर, हिन्दू महिलाको ‘महान् चाड’ तीज राममायालाई भने पटक्कै आएको छैन । यसपाली तीजमा राममाया रुदै बस्नेछिन् । यसपालीको पहिरोमा परी उनको पुरै परिवार सखाप भएको छ । निर्दयी पहिरोले उनको पुरै घर पुरेको छ । धन्न, घाँस काटन गएकाले उनी बाँचीन् । तर, अब उनी बाँच्नुको के सार ? सारा गुमेपछि जिवनको के सार ? आज उनको आँसु पुछ्ने यो धरामा कुनै सरकार छैन । दर हैन, उनको जिवनमा दर्दैै दर्द छ । तीज उनको लागि तिखो तीर बनेको छ ।

अब पक्कै पनि राममायाको दु:खका बारेमा श्रृष्टी म्याडमले कार्यपत्र तयार गरेर डलर डकार्नेछिन् । सीमरन म्याडमले राममायाको परिवार सखाप भएका दृश्यहरु समेटीएको फोटो प्रदर्शनीको उद्घाटन गर्नेछिन् । संगीता म्याडमका पतिले राममायाजस्ताका नाममा पठाइने राहतमै घोटाला गर्नेछन् । तर, राममाया आफ्ना गुमेका पति, छोरा, छोरी र आफन्तको शोकमा जिवनभर रोइरहने छीन् ।

अर्को वर्ष फेरी सिमरन मैसाबले दर खाइसिनेछ । जुलीया कुकुर्नीले पनि दर खाइसिने छ । म्याडम श्रृष्टीको धन्दा जारी रहनेछ । देशमा तीज आउनेछ, जानेछ । हुनेखानेले दर खानेछ, नहुेले टुलुटुलु हेर्नेछ ।

वैदेशीक रोजगारीमा गएका पतिको दिर्घायूको कामना गर्दै यमुना कुमारी तीजमा ब्रत बस्नेछीन् । अर्को वर्ष विदेशबाट उनका पतिको लास आउनेछ । परम्परा, देखासीकी, अन्धविश्वास र सांस्कृतीक आवेगले गरीब देशका विपन्न महिलालाई यसरी नै गाँजीरहने छ ।

पर्वतकी छोरी पार्वतीले महादेव पति पाउन ब्रत बसेको पौराणीक किंवदन्ती एकातीर छ, आजको आधुनिक समाजको यथार्थ बेग्लै छ । जवसम्म सम्पूर्ण नेपाली महिलाले दर खान पाउदैनन, तबसम्म तीजको यो नाचमा सिंगो मुुलुक झुम्न सक्दैन । त्यसका लागि संविधान बनोस्, मुलुक आर्थिक समृद्धितीर अघि बढोस् । तीजलाई सम्पूर्ण नेपाली महिलाको चाड बनाउने हो भने सिमरन मैसाबले मात्र हैन, सबैले दर खान पाउने बातावण बनोस् ।

 

 

Leave a comment