पहिरोले पश्चिम म्याग्दीको जनजीवन प्रभावित

म्याग्दी, भदौ ८ – म्याग्दीको पश्चिमी क्षेत्रमा शनिबार राति गएको पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

दरवाङ र आसपासका क्षेत्रमा सडक, घोरेटोबाटो, खानेपानी र विद्युत् आयोजनामा पहिरोले क्षति पु–याउँदा जनजीवन प्रभावित बनेको हो । निस्कोट–३ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविद्युत् परियोजनाको ३० मिटर नहर पहिरोले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
दरवाङ, निस्कोट, रुम, ओखरबोट र देविस्थानका करिब ६०० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको रुम ओखरबोट सामुदायिक प्रकोप न्यूनीकरण इकाई समितिका अध्यक्ष भरत डगामी मगरले जानकारी दिए ।

यसैगरी पहिरोका कारण दरवाङदेखि बिम र ताकम जाने सडक तथा घोरेटो बाटो पनि बन्द भएको छ ।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले दरवाङमाथिका ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, बिम, मल्कवाङ र मराङ गाविसमा आवतजावत बन्द भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य मोतीराज गौतमले दरवाङबाट जानकारी दिए ।

दरवाङबजारमा ल्याइएको खानेपानीको पाइप पहिरोले बगाएपछि डेढ सय घरधुरीमा खानेपानी आपूर्ति बन्द भएको छ । सदस्य गौतमका अनुसार बस्ती माथिबाट पहिरोसँगै आएको बाढी पसेर दरवाङ–१ साउँबोटका पाँच घरपरिवारको राति नै भागाभाग भएको थियो । बस्तीमा बाढी पस्दा थप पाँच घरपरिवार प्रभावित बनेका छन् ।

यसैगरी देविस्थानको थापाचौरका रामलाल फगामीको घर पहिरोले तानेर खसालेको छ । निस्कोट–३ का धनप्रसाद सापकोटाको घर पछाडिबाट आएको पहिरोले भत्कने अवस्थामा पुगेपछि परिवार राति नै विस्थापित भएका अध्यक्ष डगामीले जानकारी दिए ।

निस्कोट–३ मा गोठमा बाँधेको अवस्थामा स्थानीय मानसिंङ सापकोटाको एउटा गोरु पुरिएको छ । ओखरबोट–१ फूलबारीको सिँचाइ आयोजनाको नहर पहिरोले भत्काएको छ । देविस्थान गर्जराका मनबहादुर किसान लगायतका केही घर पहिरोको जोखिममा परेका छन् भने सोही पहिरोका कारण फूलबारीको खरिबोटमा रहेको धान खेत र कोदोबारी पुरिएको छ ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले घटनाका बारेमा स्थलगत अवलोकन र क्षतिको विवरण सङ्कलनका लागि आज बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

Leave a comment