छुरा प्रहार गर्ने दुई युवक पक्राउ

इलाम, भदौ ८ – इलामको साँखेजुङ–३ निवासी ४३ वर्षीय रत्नबहादुर राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी विवादमा राईलाई छुरा प्रहार गर्ने सोही स्थानका सुजन लिम्बू, मानवीर लिम्बू, विमल लिम्बू, सबिन लिम्बूमध्ये सुजन र सबिनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुई पक्षबीच भएको विवादमा गएराति ८ बजे उनीहरूले राईलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गम्भीर घाइते राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसैबीच लक्ष्मीपुर–१ निवासी ५१ वर्षीया भीममती लिम्बू घाँस काट्न जाने क्रममा लडेर गम्भीर घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

Leave a comment