यस्तो छ मोदीकाे सम्बोधन (भिडियोसहित)

यस्तो छ मोदीकाे सम्बोधन (भिडियोसहित)
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले व्यवस्थापिका संसदमा सम्बाेधन गरेका छन्। अाफ्नो सम्बोधनका क्रममा उनले नेपालको सडक र जलविद्युत विकासका लागि एक अर्ब अमेरिकी डलर सहुलियत ऋण दिने घोषणा गरेका छन् । नेपालीमा सम्बाेधन सुरु गरेका उनले पछि हिन्दीमा सम्बोधनलाई निरन्तरता दिएका थिए ।
 

यस्तो थियो उनकाे सम्बोधन – यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नेबित्तिकै गर्न चाहन्थेँ, किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो। म एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु। भारत र नेपालको सम्बन्ध त्यति नै पुरानो छ, जति हिमालय र गंगाको छ। हाम्रो सम्बन्ध कागजको पानाबाट अघि बढेको छैन, हाम्रो सम्बन्ध मनको अन्तस्करणदेखि छ, जनजनको मनको प्रतिबिम्बका रूपमा रहेको छ। हामी एकै सांस्कृतिक बिरासतका धनी छौं। म मूलतः गुजरातको हुँ, सोमनाथको भूमि हो। सोमनाथको भूमिबाट हिँडेर राष्ट्रिय राजनीति विश्वनाथको छत्रछायाँबाट सुरु गरेँ। आज पशुपतिनाथको चरणमा उभिएको छु। यो यस्तो भूमि हो, जसले विश्वलाई अचम्मित पार्ने भगवान् गौतम बुद्धलाई जन्म दियो।
हामी एकै सांस्कृतिक बिरासतका धनी हौं। काशीमा एउटा मन्दिर छ, जहाँका पुजारी नेपाली छन्। र, नेपालमा पशुपतिनाथ छन्, जहाँका पूजारी हिन्दूस्तानी छन्। भारतका प्रत्येक व्यक्ति ५१ शक्तिपीठको दर्शन गर्ने चाहना राख्छ, ती ५१ शक्तिपीठमध्ये दुई शक्तिपीठ नेपालमा छन्। यतिमात्र होइन, हिन्दुस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन, जुन जितका लागि नेपालीको रगत नबगेको होस्। कुनै नेपालीले सहादात प्राप्त नगरेको होस्। भारतका लागि मर्न–बाँच्न तयार बहादुर नेपालीलाई म नमन गर्छु। भारतीय सेनाका फिल्ड मार्सलले महत्वपूर्ण कुरा भन्दथे – कोही सेनाका जवानले म मर्नबाट डराउँदिन भन्छ भने बुझ्नू कि त ऊ झुठो बोलिरहेको छ, कि त्यो गोर्खा हो।
आज लोकतन्त्रमा विश्वास राख्ने पूरै विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ। आशायुक्त नजरले हेरिरहेको छ। तपाईंलाई लाग्छ होला सदनमा बसेर संविधान निर्माणबारे चर्चा गरिरहेका छौं, भिन्न भिन्न धाराको चर्चा गरिरहेका छौं, समाजका भिन्न भिन्न वर्गको हितका कल्याणको चर्चा गरिरहेका छौं। यसलाई म फरक ढंगले हेर्छु। हामी जुन परम्परामा बाँचेका छौं, कहिले केही ऋषिले वेद निर्माण गरे, केहीले उपनिषद् निर्माण गरे, केहीले योगसंहिताको निर्माण गरे र जसको प्रकाशमा हजारौं वर्षदेखि हामी आफ्नो जीवन चलाउँदै आएका छौं, त्यसै परम्परामा तपाईंको जीवनमा देशको संविधानले पनि नयाँ संहिताको रूपमा जन्म लिन्छ। नयाँ युगलाई दिशा देखाउने काम संविधानमार्फत् हुन्छ। जुन कुनै जमानामा ऋषिहरुले वेदद्वारा, पुराणद्वारा, संहिताद्वारा गरेका थिए। यस प्रकारले तपाईंहरू नयाँ संहिता लेख्दै हुनुहुन्छ।
तर संविधान निर्माणका पूर्वसर्त हुन्छन्, संविधान निर्माण गर्न ऋषिमन हुनु जरुरी छ। त्यो मन जसले टाढासम्म देख्न सक्छ, त्यो मनले समस्याको अन्दाज गर्न सक्छन्, त्यो मनले सय वर्षपछि पनि समाजलाई सुरक्षित राख्न र आर्थिक विकास यात्रालाई अघि बढाउने कुरा आज शब्दमा अंकित गर्नसक्छ। त्यसैले तपाईं असाध्यै भाग्यमानी हुनुहुन्छ, म तपाईंहरूलाई नमन गर्न आएको हुँ, तपाईंहरूको अभिनन्दन गर्न आएको हुँ। तपाईंहरूको संविधान जुन बन्नेछ, त्यो नेपालका लागि मात्र होइन, विश्वका लागि एउटा स्वर्णिम पृष्ठ बन्नेवाला छ। किनभने, इतिहासको धरोहरमा हेर्ने हो भने एक सम्राट अशोक थिए, जो युद्धपछि शान्तिको खोजीमा निस्किए। युद्ध छोडेर बुद्धको शरणमा गए र एउटा नयाँ स्वर्णिम पृष्ठ लेखियो। म ती सबैलाई बधाइ दिन्छु जसले बुलेटको बाटो छाडेर ब्यालेटको मार्गमा अघि बढ्ने संकल्प गरे, नेपालको धर्तीमा पनि। म ती सबैलाई अभिनन्दन गर्छु, जो युद्धबाट बुद्धको बाटोमा गए।
तपाईंहरूले जब संविधान निर्माण गर्नुहुनेछ, त्यो शान्ति प्रक्रियाको गर्भबाट एउटा यस्तो उम्दा संविधानले जन्म लिनेवाला छ, जसले कोटिकोटि जनको आशा आकांक्षाको पूर्ति गर्नेछ। यसभन्दा अगाडि आज दुनियाँको प्रत्येक भूभागमा सानातिना केही गुट यस्ता जन्मिएका छन्, जो अझै हिंसामा विश्वास गर्छ। शस्त्रको माध्यमबाट सुख प्राप्त हुन्छ भन्ने बाटो उनीहरुले देखेका छन्। जब नेपाल संविधान लिएर आउनेछ, शस्त्रलाई छाडेर शास्त्रको सहायताले पनि जीवनमा परिवर्तन ल्याउन सकिन्छ भनेर विश्वास दिलाउन सकिन्छ। तपाईंहरुको प्रयोग सफल भयो भने विश्वलाई हिंसाबाट मुक्तिको नयाँ आधार बुद्धको भूमिबाट मिल्नेछ।
भारतले सुरुदेखि मान्दै आएको छ– हाम्रो काम तपाईंको काममा दख्खल दिनु होइन। भारतको काम तपाईंले जुन संकल्प गर्नुहुन्छ, तपाईंले जुन मार्ग छान्नुहुन्छ, त्यसमा हामी काममा आउन सक्नु नै हाम्रो काम हो। तपाईंलाई मार्ग देखाउनु हाम्रो काम होइन। तपाईंलाई लक्ष्यसम्म पुर्‍याउनु हाम्रो काम होइन। नेपाल एउटा सार्वभौम राष्ट्र हो। हाम्रो इच्छा यति हो, नेपालले हिमालयको उचाइँ प्राप्त गरोस् र पूरा विश्व नेपाललाई हेरेर गौरवान्वित होस्।
संविधान विवादबाट समाधानको बाटोमा लैजाने बलियो माध्यम हुनेछ। त्यसैले चाहे पहाड होस्, या तराई संविधानले जोड्ने काम गर्नेछ। संविधानमा हजारौं चिज राम्रो हुन्छ, तर एउटा अल्पविराम, एउटा पूर्णविराम कहीँ पनि यस्तो आयो, जुन तपाईंलाई थाहा नहोस्, लेखियो। तर ५० वर्ष, सय वर्षपछि अल्पविराम, पूर्णविरामका रूपमा आएका एकदुई चिज विषवृक्ष नबनोस्, विषवृक्षलाई जन्म नदियोस्, जसले नेपालको सपनालाई धूमिल पारोस्। यस अर्थमा भारत चाहन्छ, तपाईंहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो लिएर आजसम्म उपलब्धमध्ये सबभन्दा उत्तम मार्ग छान्नुभएको छ। भारत सधैं तपाईंको संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पनाको पूरापूरा आदर गर्छ।
नेपाल र भारतको सम्बन्ध यस्तो छ कि थोरै मात्र हावा यताउता भयो भने शीतल हामीलाई पनि हुन्छ। आज घाम यहाँ चर्कियो भने गर्मी हामीलाई पनि लाग्छ। यस्तो अटुट नाता छ। यदि तपाईं चैनले सुत्नुभएको छैन भने हिन्दुस्तान पनि चैनले सुत्न सक्दैन। हिजो जब कोसीको घटना भयो, समाचार आयो, मेरो पूरा चासो रहिरह्यो, यति ठूलो घटना भयो, के भयो? यति ठूलो चट्टान झरेको छ, कोसी नदीको पानी रोकिएको छ। थाहा छैन कतिजना हराएका छन्, कतिको मृत्यु भएको छ? जति चिन्ताले तपाईंलाई सताउँथ्यो, त्यति चिन्ताले मलाई पनि सताउँथ्यो किन? जुन कष्ट तपाईको हो, त्यो मेरो पनि हो। यो आपत तपाईको हो भने मेरो पनि हो। हिन्दूस्तानको कुनै कुनामा जति शीघ्रतासाथ मद्दत पुर्‍याइन्छ, त्यति नै शीघ्रतासाथ सहयोग पुर्‍याउने उपाय मैले समाएँ।
नेपालमा जन्मिएका गौतम बुद्धले मनको अँध्यारोलाई हटाएजस्तै नेपाल जलसम्पदामा यस्तो धनी छ, जसले बिजुलीको माध्यमबाट हिन्दुस्तानको अँध्यारो हटाउन सक्छ। हामी बिजुली निःशुल्क चाहँदैनौं, हामी किन्न चाहन्छौं। हामी तपाईंको पानी पनि लैजान चाहँदैनौं। एउटा कहावत छ– पानी र जवानी यो कहिल्यै पहाडको काममा आउँदैन। पानी पहाडमा रहँदैन, बग्दछ। र, जवानी पनि अलिकति उमेर बढ्नासाथ रोजीरोटीको खोजीमा बाहिरिन्छ। त्यो जवानी पनि पहाडको काममा आउँदैन, पानी पनि आउँदैन। तर, यो कहावत हामीलाई बदल्नुछ। त्यो पानी पहाडको काममा कसरी आउँछ, त्यो जवानीले पहाडलाई कसरी नयाँ रौनक दिन्छ, त्यो दिशामा हामी अघि बढ्नुपर्छ। हामीले प्राकृतिक संशाधनको समुचित प्रयोग गरेर विकासको एउटा दिशा तय गर्दैनौं भने कसरी हुन्छ? भारत यसका लागि तपाईंसँग काँधमा काँध मिलाएर हिँड्न चाहन्छ। निर्णय तपाईंको हो। एउटा हिन्दुस्तानलाई मात्रै बिजुली बेचेर पनि नेपालले समृद्ध देशमा आफ्नो स्थान बनाउन सक्दछ।
जब लक्ष्मणजी मूर्छित भए हनुमानजी जडिबुटी लिन यहाँ आए। आज पूरा विश्वमा हर्बल हेल्थकेयरको चर्चा चलिरहेको छ। जडिबुटी हिमालयको गर्भमा अलपत्र छ। यदि त्यो जडिबुटीलाई हामीले हर्बल मेडिसनका रूपमा प्रोत्साहन दियौं भने नेपाल विश्वमा हर्बल मेडिसिनको सबभन्दा ठूलो निर्यातक किन बन्दैन? के छैन तपाईंहरुसँग? म तपाईंहरुसँग काँधमा काँध मिलाएर काम गर्न तयार छु।
तपाईंको छिमेकमा रहेका सवा सय करोड देशवासी कहिले न कहिले पशुपतिनाथ आएर आफ्नो शीर झुकाउन चाहन्छन्। भगवान बुद्धको समीप आएर शान्तिको सन्देश लिन चाहन्छन्। नेपालको पर्यटन त्यस रुपमा विकसित होस् ताकि भारतका ठूलो संख्यामा पर्यटक नेपाल आउन सकून। पर्यटन कमभन्दा कम पुँजीले ज्यादाभन्दा ज्यादा रोजगारी दिने क्षेत्र हो। पर्यटक आउँछन् भने चना बेच्नेले पनि कमाउँछ, बदाम बेच्नेले पनि कमाउँछ, अटो रिक्सा चलाउनेले पनि कमाउँछ, ट्याक्सीवालाले पनि कमाउँछन्, चिया बेच्नेले पनि कमाउँछन्। चिया बेच्नेवालाको कुरा आउँदा मलाई बडा आनन्द आउँछ।
अर्कोतिर, साहसिक पर्यटनका लागि हिमालयभन्दा बढी के हुन सक्छ? नेपालभन्दा राम्रो कुन ठाउँ हुन सक्छ? पूरै विश्वको युवालाई पागल बनाउने तागत तपाईंको धर्तीसँग छ। म तपाईंहरुलाई आह्वान गर्दछु– आउनुहोस्। तपाईं पूरा विश्वको युवालाई ललकार्न सक्नुहुन्छ, आउनुहोस्। कति ठूलो अवसर छ। हामीले संविधान निर्माण पनि गर्नुछ, हामीले नेपाललाई नयाँ उचाईमा पनि लैजानुछ। त्यसका लागि एउटा छिमेकीको धर्म निर्वाह गर्नका लागि हामी प्रतिबद्ध छौं।
मेरो मनमा आयो– नेपाललाई हिट गरौं। मैले यस्तो शब्द प्रयोग गर्दा तपाईंलाई नराम्रो लाग्न सक्छ। यो को हो हिट गर्ने? तर म जब हिट गर्ने कुरा गर्छु मेरो मनमा तीन प्रमुख कुरा आउँछ– एचआइटी। पहिलो हाइवेज, दोस्रो आइवेज र तेस्रो ट्रान्सवेज। नेपाललाई भारतले जति चाँडो यो उपहार दिन्छ, हाइवेज दिओस्, आइवेज– इफर्मेनस वेज, पूरा विश्वमा नेपाल पछाडी पर्नु हुन्न। नेपाल पनि डिजिटल बन्नुपर्दछ। नेपाल विश्वसँग जोडिनुपर्दछ। र ट्रान्सवेज – ट्रान्समिसन लाइन्स। आज हामी जति बिजुली नेपाललाई दिइरहेका छौं, त्यसको दोब्बर दिने मेरो चाहना छ, यसका लागि जतिसक्दा चाँडो ट्रान्समिसन लाइन जोड्नुहुन्छ, अहिले हामी नेपालको अँध्यारो हटाउनेछौं, एक दशकपछि हिन्दूस्तानको अँध्यारो नेपालले हटाउनेछ – यो हाम्रो नारा हो। यसैले मैले भने एच – हाइवेज, आइ– इन्फर्मेसन वेज र टि – ट्रान्समिसन वेज। यो म हिट गर्न चाहन्छु। र तपाईं पनि चाहनुहुन्छ, यो हिट चाँडै होओस्।
यदि महाकाली नदीमा पुल बन्यो भने मेरो र तपाईंको दुरी कति कम हुन्छ। हामी एकअर्काको नजिक आइपुग्छौं। आज हामीलाई घुमेर जसरी आउनुपर्दछ, महाकालीमा पुल बन्यो भने हाम्रो दुरी कम हुन्छ। हामी यो कुरालाई जोड दिएर अघि बढ्न चाहन्छौं। त्यस्तै प्रकारले हाम्रो लागि सीमा जुन छ, त्यो अवरोध बन्न सक्दैन, त्यो पुल बन्नुपर्छ। भारत र नेपालको सीमा यसप्रकारले चालु होस्, ताकि तपाईंको विकास होस्, र तपाईंसँग जोडिएको भारतका राज्यहरू छन् तिनको पनि विकास होस्। एउटा योजना आज मैले प्रधानमन्त्रीलाई भनेँ – यति ठूलो प्राकृतिक सम्पदा छ, भारतले यसमा काम सुरु गरेको छ। नेपालमा पनि यसमा अघि बढोस्। हामीले मिलेर हिमालयको शक्ति मानवजातिका लागि कसरी आउन सक्दछ, त्यसको बाटो र साधन के हुन सक्छ? त्यसको सामर्थ्यलाई हामीले पहिचान गरौं। विज्ञानको नयाँ रहस्यलाई हामीले खोलौं। मानवजातिको कल्याणको दिशामा हामी काम गरौं, हामी प्रयास गर्न चाहन्छौं।
कहिलेकाहीँ म अचम्ममा पर्छु– अमेरिका टेलिफोन गर्नुपर्‍यो भने सस्तो पर्छ, तर नेपाल फोन गर्नुपर्‍यो भने महँगो पर्छ। यो के अचम्म हो। नेपालका लाखौं मानिस भारतमा छन् र उनीहरू त्यहाँबाट कुरा गर्न चाहन्छन् तर नमस्ते गरेर फोन राखिदिन्छन्। म यो स्थिति बदल्न चाहन्छु। यो दुई देशमा जति पनि सेवा प्रदायक छन्, उनीहरुसँग भेटेर म कुरा गर्छु, तपाईंहरु पनि कुरा गर्नुहोस् – यो सम्पर्क यस्तो हुनु हुँदैन। असाध्यै आरामसँग चाहेजति कुरा गर्न पाइयोस्, यसैले त नाता जोडिन्छ।
हामी सार्कका देशहरू मिलेर गरिबीविरुद्ध अघि बढ्न सक्छौं। गरिबीविरुद्धको लडाइँमा हामी सबै सार्क राष्ट्र एकअर्कालाई मद्दत गरौं। भारतको दायित्व हो, हाम्रा जति पनि भाइहरू छन्, उनको विकास यात्रामा हामीले मद्दत गरौं। यसैले मैले भर्खरै घोषणा गरेको छु, हाम्रो स्पेस टेक्नोलोजीको लाभ सार्कराष्ट्रहरूले पाउनुपर्छ। यसका लागि भारतको तर्फबाट एउटा सार्क सेटेलाइन लन्च गरिनेछ, यसको लाभ स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रका लागि सार्क राष्ट्रलाई मिलोस्, नेपाललाई मिलोस् त्यो दिशामा हामीले कदम उठाएका छौं।
हामी यति नजिकै छौं, धेरै दुरी छैन। तर आउँदाआउँदै १७ वर्ष लाग्यो। यो उचित होइन। म वाचा गर्दछु, अब यस्तो हुनेछैन। म त केही महिनामै फेरि आउँदैछु सार्क सम्मेलनका बेला। मैले त्यतिबेला तय गरेको छु, त्यतिबेला आउँदा राजा जनकलाई पनि नमन गर्न जान्छु, भगवान बुद्धलाई पनि नमन गर्न जान्छु। यो खुसीको कुरा हो, पञ्चेश्वर परियोजना धेरै पहिले तय भएको हो। लागत बढ्यो। तर अब प्राधिकरणको निर्माण दुवै देशमा भएको छ। म मान्दछु एक वर्षभित्र ५६०० मेघावाटको यो आयोजना सुरु हुनेछ। आज नेपालसँग जति बिजुली छ, त्यसको लगभग पाँच गुणा बिजुली, सानो कुरा होइन। विकासले कति नयाँ उचाइ पाउन सक्छ। यसका लागि भारत तपाईसँग काम गर्न तयार छ।
अर्को कुरा, जसरी मैले भने हर्बल मेडिसिन। यो एकदमै ठूलो क्षेत्र हो। यसै पनि अर्गानिक फार्म विश्वमै एउटा ठूलो बजारका रुपमा देखिएको छ। जुन सामान रुपैयाँमा बिक्दछ, यदि अर्गानिक छ भने डलरमा बिक्न थाल्दछ। नेपाल एउटा यस्तो भूमि हो, जहाँ यो सम्भव छ। भारतमा सिक्किम एउटा राज्य हो, जसले आफूलाई अर्गानिक राज्य बनाएको छ, जसले गर्दा विश्वमा एउटा नयाँ बजार खडा भएको छ। यदि नेपाल त्यो दिशामा अघि बढ्न चाहन्छ भने तपाईंहरुलाई सहयोग गर्न मलाई खुसी लाग्नेछ।
म यो पनि घोषणा गर्न चाहन्छु – भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ सहुलियत ऋण दिने निर्णय गरेका छौं। यो ऋणको उपयोग नेपालले आफ्नो प्राथमिकता आधारमा गर्नेछ। हामी चाहन्छौं यो रकम जलविद्युत, संरचना निर्माण आदि क्षेत्रमा लगाउनुहोस्। यो पहिलो दिएको भन्दा थप हो।
म फेरि एकपटक विश्वास दिलाउनु चाहन्छु – दुनियाँको दृष्टि तपाईंहरुतिर छ, विश्वले आशापूर्ण नजरले तपाईंहरुलाई हेरिरहेको छ किनभने शस्त्रबाट मुक्तिको मार्ग संधिवानको माध्यमबाट आज शस्त्रको बाटोमा हिँडिरहेका मानिसहरुलाई फिर्ता ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ। तपाईं सफल हुनुभयो भने दुनियाँलाई फर्कने अवसर मिल्नेछ। शस्त्र छाड्ने प्रेरणा मिल्नेछ र मानिस प्रजातान्त्रिक व्यवस्थाबाट जनजनको आशा आकांक्षा पूर्ति हुने नयाँ विश्वास पैदा हुनेछ। त्यसैले तपाईंहरुले संधिवान निर्माणको यो कामलाई त्यो ढंगले हेर्नुहोस्। यो कुरा दोहोर्‍याएर भन्दछु, तपाईहरुको ऋषिमन सयवर्षपछि नेपाल कस्तो होस्, नेपालका मानिस कस्ता होऊन्, नेपालका मानिसलाई के मिलोस् भन्ने कुराको निर्णय तपाईंले गर्दै हुनुहुन्छ। त्यसमा तपाईंहरु सफल हुनुहुन्छ। भगवान् वुद्धको यो भूमिमा विचारको कुनै कमी हुनेछैन, इच्छाशक्तिको कुनै कमी हुनेछैन, संकल्पशक्तिको कुनै कमी हुनेछैन। यसैले जुन नयाँ इतिहास तपाईंहरुले रच्न गइरहनुभएको छ, त्यसबाट यति ठूलो लाभ मिल्नेवाला छ मलाई विश्वास छ। म सबैलाई यही भन्छु– हाम्रो जुन सम्बन्ध छ, भारत नेपाल मैत्री यो अमर रहोस्। युग युग बाँचोस्। सार्वभौम नेपाल राष्ट्र हिमालयको नयाँ उचाइमा माथि उठोस् यही शुभकामनासाथ तपाईंहरुबीच आउने अवसर मिल्यो फेरि एकपटक धेरै धेरै धन्यवाद।
(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा आइतबार दिएको सम्बोधनको सम्पादित अंश)

यस्तो छ मोदीको भोलिको कार्यक्रम

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे ९ बजे भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगी दर्शन र पूजाअर्चना गर्नेछन्।
त्यसपछि उनी ११:१५ बजे शीतल निवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आधा घन्टा कुराकानीपछि राष्ट्रपतिले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी ओली १:१५ बजे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १:४५ बजे, मधेसीवादी दलका नेता २:१५ बजे जानेछन्। मोदीले तीन बजेबाट आधा घन्टा ह्यातमै व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी ३:४५ बजे पाटन र भक्तपुर दरबारको अवलोकनमा निस्कने छन्। मोदीको सोमबार ५:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
 

Leave a comment