‘बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो !’

 

'बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो !'
काठमाडौं- सिन्धुपाल्चोक, जिरे ड्याम बजारका ५१ वर्षीय दिलबहादुर श्रेष्ठलाई सँगै सुतेका नाति र श्रीमती शनिबारको पहिरोमा परेर बेपत्ता भएको अहिलेसम्म थाहा छैन। ‘नाति, बूढी र म त्यही कोठामा सुतेका थियौं, अहिले कता छन् थाहा छैन,’ शनिबारदेखि टिचिङ अस्पतालमा उपचारार्थ उनले नागरिकसँग भने।
 

शुक्रबार राति भुइँचालो आएझैं भएर बाहिर निस्केपछि त्यही आँगनमै पहिरोले छोपेको उनी बताउँछन्। ‘पहिला भुइँचालो आएझैं भयो, हत्तपत्त घरबाहिर निस्कँदा पहिरो र बाढी सँगै आएर पुर्योढ,’ उनले भने।
पहिरोमा पुरिएपछि उनले उद्धारका लागि हारगुहार गरे। कोही आएनन्। कराउँदा–कराउँदा बेहोस भए। भोलिपल्ट शनिबार घटनास्थल पुगेको सशस्त्र प्रहरी र नेपाली सेनाले उनको उद्धार गरेको हो।
त्यही पहिरोमा परेर दिलबहादुरका नाति र श्रीमतीको मृत्यु भइसकेको उनका आफन्तले जनाएका छन्। छातीको करङ भाँचिएका उनलाई गम्भीर चोट लागेकाले आफन्तले घटनाबारे जानकारी नगराएका हुन्।
सिन्धुपाल्चोकको पहिरोमा परेका जिरे राम्चेका ३४ वर्षीय श्रीबहादुर तामाङ र उनकी १५ वर्षीया जेठी छोरी सन्जु गम्भीर घाइते भएका छन्। दस वर्षअघि चट्याङले श्रीमती गुमाएका तामाङ परिवारमा शुक्रबारको पहिरो अर्को प्राकृतिक विपत्ति बनेर आयो। ‘बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो,’ उनले भने।
रातिको साढे १२ बजे भुइँचालोकै रूपमा आएको पहिरोले पुरेपछि एउटै कोठामा सुतेका छोरी र तामाङ पुरिएका हुन्। ‘थर्केर आयो, छोरीले ड्याडी भन्दै थिई, सम्हालिन नभ्याउँदै थिचिहाल्यो,’ उनले भने। 
छोरी सन्जुको ढाडमा गम्भीर समस्या छ भने श्रीबहादुरको देब्रे खुट्टा तीन ठाउँमा भाँचिएको छ। पहिरोमा परेपछि निस्कन प्रयास गरे पनि ठाउँ नपाएपछि कराउँदा–कराउँदै बाबुछोरी बेहोस भएका थिए। पहिरोले पुरेर सास फेर्ने ठाउँ नपाएपछि मुख सुकेर ढलेको उनले सुनाए। ‘मुख सुक्यो पानी पाइनँ, कराउँदै एक मुठ्ठी माटो नै चाटेछु,’ उनले भने। 
भोलिपल्ट बिहान सात बजे आफन्तको सहयोगमा उनको उद्धार भएको हो। श्रीमतीको मृत्युपछि उनले आफ्ना साना नानीहरूलाई ससुरालीमा हुर्काएका हुन्। सासूसँग सुतेका एक छोरी र छोरा भने सकुशल छन्। सामान्य चोटपटक लागेकाले सासूसहित उनीहरूको बाह्रबीसे अस्पतालमा उपचार भइरहेको छ। छोरी सन्जुको अहिलेसम्म राम्रोसँग होस खुलेको छैन। 
http://www.topupnepal.wordpress.com
स्थानीय भोटेकोशी जलविद्युत आयोजनामै मजदुरी ठेक्कासमेत गर्दै आएका श्रीबहादुरलाई आयोजनाले आइतबार डेढ लाख रुपैयाँ दिने भनेको थियो। पहिरोले सबै कुरा अधुरो भएको उनले सुनाए। ‘आयोजना नै बगाएपछि अब पैसा कसले दिन्छ र?’ उनले भने।
टिचिङ अस्पतालमै उपचार गराइरहेकी ४२ वर्षीया कमला पराजुलीको छाती, खुट्टा र अनुहारमा गम्भीर चोट लागेको छ। उनको ढाड भाँच्चिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छोरा सन्तोषले बताए। ड्याम बजारमै पसल गर्दै आएकी पराजुलीको पति पनि घाइते भएर धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। परिवारका अन्य सदस्य भने बजारदेखि अर्को गाउँको घरमा बसेकाले बच्न सफल भएका छन्। 
टिचिङ अस्पतालका अनुसार अहिलेसम्म पहिरोका १४ जना घाइतेले उपचार लिएका छन्। त्यसमध्ये एकजना गम्भीर, तीनजना मध्यम र बाँकी सामान्य घाइते छन्।

Leave a comment