प्रमाणपत्रको पैसा दिन नसक्दा विद्यार्थीले पढ्न पाएनन्

जाजरकोट- यहाँका माविहरूले चारित्रिक प्रमाणपत्र लिएको रु पाँच हजार असुल्दा विद्यार्थी मारमा परेका छन्। जिल्लाका अधिकांश माविले चर्को पैसा असुल्दा विद्यार्थी सो तिर्न नसकी खाली हात पर्कने गरेको बताउँछन्।
 

चारित्रिक प्रमाणपत्रको रु पाँच हजार असुल्नेमा शिवशङ्कर उच्चमावि जगतिपुर, पञ्च भयार मावि खगेनकोट जिकुवा, जानकी मावि खगेनकोट मैदे र पजारु मावि रहेका छन्।

यी विद्यालयहरूले आफूखुसी चर्को शुल्क असुलेपछि विद्यार्थी प्रमाणपत्र लिनबाट वञ्चित भएका छन्। रु पाँच हजार नतिरेसम्म कसैलाई पनि प्रमाणपत्र नदिएपछि विद्यार्थी माथिल्लो कक्षामा पढ्नबाट वन्चित भएका छन्।

यसैबीच चर्काे पैसा असुलेको भन्दै शिवशङ्कर उच्च मावि जगतिपुरविरुद्ध सोमबार जिल्ला शिक्षा कार्यालय जाजरकोट, जिल्ला प्रशासन कार्यालयमा विद्यार्थीले उजुरी दिएका छन्। भारी शुल्क असुल्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कारबाहीका लागि माग पनि गरिएको छ। जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले तत्काल ती विद्यालयलाई कारबाही गरिने बताएका छन्।

Leave a comment