कोसी विपदमा सहयोग गर्न चीन तयार

हङकङ- चीनका प्रधानमन्त्री ली खछ्याङले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट प्रभावित क्षेत्रमा सहयोग गर्न तयारी अवस्थामा रहेको जनाएका छन्।
 

‘आफ्नो क्षमताअनुसारको आर्थिक सहयोग सहित नेपालको विपद व्यावस्थापनमा सबै प्रकारका सहयोग गर्न चीन तयारी अवस्थामा बसेको छ’,प्रधानमन्त्री सुशील कोइरालालाई सोमबार पठाएको शोक सन्देशमा चीनका प्रधानमन्त्री लीले भनेका छन्।  

चीनको पीपुल्स डेलीका अनुसार प्रधानमन्त्री लीले सन्देशमा पहिरोमा परेर मारिएकालाई श्रद्धान्जली दिँदै पीडितप्रति समवेदना व्यक्त गरेका छन्।

शनिबार गएको पहिरोमा हराइरहेका नागरिकको खोजी कार्य भइरहेको छ भने पहिरोले थुनेको कोशी बाँध फुट्न सक्ने खतरा अझै बाँकी छ। पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन व्यापार ठप्प भएको छ। नेपाल चीनको स्वशासति प्रदेश प्रमुख व्यापार साझेदार हो भने तातोपानी नेपाल–चीनको मुख्य नाका हो।

भूकम्प पीडितलाई भेट्न ली युनान प्रान्तमा

चीनका प्रधानमन्त्री ली भूकम्प पीडितलाई भेट्न सोमबार दक्षिण पश्चिम चीनको युनान प्रान्त पुगेका थिए। युनानको लुडिनमा आइतबार दिउँसो गएको शक्तिशाली भूकम्बाट १२ हजार घर भत्किँदा अहिलेसम्म ३ सय ९८ जनाको मृत्यु भएको छ भने करिब दुई हजार घाइतेको उद्धार गरिएको छ।

Leave a comment