माधव नेपाल र सुरेन्द्र पाण्डेले अग्रता लिए

रिमाल भन्छन् ‘आज माधव नेपालको दिन हो’

काठमाडौं, असार ३० – एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मतगणनामा माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी मतगणनामा अध्यक्ष प्रतिस्पर्धी केपी शर्मा ओलीलाई ४७ मतले पछि पार्दै नेपालले अग्रता लिएका हुन् ।

नेपालले ६४० मत पाउँदा ओलीले ५९३ मत पाएका छन् । अन्य पदाधिकारीको गणना हुन बाँकी छ । मिश्रति भोट भएका मतपत्र पनि गन्न बाँकी छ ।

महासचिवमा नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले उछिनेका छन् । पाण्डेले ओली प्यानलका ईश्वर पोखरेलभन्दा ७६ मत बढी पाएका छन् ।

मतगणनामा रहेका प्रतिनिधि एवं बुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले बुथ नम्बर २ र ३ को मतगणना सकिएको जानकारी दिए । उनका अनुसार सुरुमा प्यानलमा परेका मतपत्र र मिश्रति मतपत्रलाई सर्टिङ गरेर गणना गरिएको हो ।

बुथ नम्बर २ र ३ मा कोशी र सगरमाथा अञ्चलको मतपत्र रहेको छ । मेचीमा ओली, कोशीमा नेपाल समूह बलियो छ भने सगरमाथामा बराबरीको स्थिति रहेको छ ।

ओलीपक्षीय नेता विष्णु रिमालले सोमबारको गणनामा माधवकुमार नेपालले अग्रता लिनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको दिन सायद कमरेड माधव नेपालको दिन हुनेछ ।’

आइतबार राति १० बजेपछि स्थगित मतगणना बिहान पौने १० बजेदेखि सुरु भएको हो ।

पूर्व युवराज पारस शाह बैंककमा गाँजा सहित पक्राउ

काठमाडौं—पूर्व युवराज पारश शाह बैंकको एक होटलबाट गाँजा सहित पक्राउ परेका छन्। उनी १२ ग्राम गाँजा सहित बैंककको होटल डेभिसबाट १० जुलाइमा पक्राउ परेको त्यहाँ स्थित नेपाली दूताबासले पुष्टि गरेको छ।

‘पूर्व युवराज पारसलाई गाँजा सहित पक्राउ गरिएको सूचना थाइ प्रहरीले हाम्रो दूताबासलाई दिएको छ’, थाइल्याण्डका लागि कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्यालले नागरिकन्युजसँग भने, ‘हामीले यो जानकारी परराष्ट्र मन्त्रालयलाई आजै गराइसकेका छौं।’

पारस पक्राउ परेपछि दुई दिन लगातार विदा परेकाले प्रहरीले सोमबार दूताबासलाई जानकारी गराएको हो। थाइल्याण्डमा शनिबार र आइतबार नियमित सरकारी विदा हुने गर्छ। प्रहरीले उनलाई आज बैंकक स्थित क्रिमिनल कोर्टमा उपस्थित गराएको छ।

पक्राउ परेका पारसलाई कुन ठाउँमा राखिएको छ भन्ने बारे प्रहरीले जानकारी दिएको छैन।

यसअघि उनी थाइल्याण्डमै ३ दशमलव ४ ग्राम गाँजा सहित पक्राउ परेका थिए। फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई एक महिना सुधारगृहमा राख्न आदेश दिएको थियो। उनलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा दोस्रो पटक पक्राउ गरी प्रहरीले २० लाख थाई भाट (झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ) बराबरको क्षतिपूर्ति भराएको थियो।

मातापिता, श्रीमती र तीन सन्तान छोडेर चार वर्षघि सिंगापुर लागेका उनी थाइल्याण्डमा स्थानीय युवती कन्निका चाइसानसँग बस्दै आएका छन्।