धारा छोएको निहुँमा दलितलाई कुटपिट

भैरहवा, असार १०– रुपन्देहीमा जातीय बिभेदका नाममा बिभिन्न घटनाहरु सार्वजनिक भैरहेको र प्रहरीले पिडक र पिडित दुबै आपसी छलफलमा घटना मिलाईरहेको अवश्थामा रुपन्देहीमा एक वृद्धा माथी भएको जातीय बिभेदको घटनाको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी दर्ता गरेको छ ।
रुपन्देहीको मानमटेरिया ३ स्थित मधवनियाकी ६२ वर्षीया दलित वृद्धाले सार्वजनिक धारा (हेन्ड पाइप) छोएको कारणनै बिभिन्न किसिमका जाती सूचक गाली प्रयोग गर्दै कुटपिट गरेको घटना बाहिर आएको छ । मधवनियाकी अनारी हरिजनले गाविसद्धारा छिमेकीको घरमा जडान गरिएको सार्वजनिक घारामा पानी भरेको निहुमा लखाटेर कुटेको बताएकी छन ।
निजि जग्गामा जडान गरिएको सार्वजनिक हेन्ड पाइपमा पिउनका लागि पानी लिन जादाँ सोही स्थानका २५ वर्षीय विपत केवट र उनकी आमा ले हरिजनलाई कुटपिट गरेका हुन् ।
“त सानो जातीको मानिस होस र हामी ठुलो जातीको मानिसको धारामा पानी लिन किन आएको र धारा किन छोएको भन्दै बिपत केवट र उनकी आमाले धारामा पानी लिन गएको अवस्थामा कुटेको र जोगिएर भाग्न खोज्दा घर भित्र पसेर समेत कुटेको उनले बताईन ।
“श्रीमानको १० बर्ष अघि नै मृत्यु भै सकेको र भएको एक मात्र छोरा पनि बैदेशिक रोजगारको सिलसिलामा भारतमा छन । घरमा एक्लै भएको अवश्थामा मलाई निर्घात कुटे” उनले रुदै आफ्नो बेदना पोखिन । सरकारले तल्लो जातलाई भेदभाव गर्न पाउन्न भनेको छ, खै त सरकारले उनिहरुलाई कार्यवाही गरेको ? उनको प्रश्न रहेको छ । आइतबार साझ करिब साढे सात बजेको समयमा म पिउनका लागि पानी लिन जादाँ केवटको र उनको आमाले सो दिन पनि “त तल्लो जातीको मानिस हामी यहाँ भएको अवस्थामा पनि यस्तो मनपरी गरी पानी भर्न पाउँदैनस हामी छोइछिटो बार्नुपर्छ भन्दै कराउँदै केवटले लठ्ठीले मेरा टाउँको र संवदेनशिल अंगमा प्रहार गरी रगताम्य बनाएपछि आफुलाई जोगउँदै त्यहाबाट भागेको बताइन् । उनले थपिन्–“भागेर म आफ्नो घर सम्म पुग्दा मेरा पिछा गर्दै आएको केवटले पुन मलाई मरणसन्न हुने गरी कुटपिट गरी त्यहाँबाट गएको थियो ।”
भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागी भर्ना भएकी उनले गाउका केही ब्यक्तिले मिल्न दबाव दिएको बताउदै आफु कुनै पनि हालतमा नमिल्ने र उनिहरुलाई कार्यवाही गराएर छोडने अठोट लिएको बताईन । आज केही पैसाको लोभमा मैले यस्ता जातीय बिभेद गर्नेलाई उन्मुक्ति दिए भने उनिहरुको मनोबल बढछ र उनिहरु यस्ता घटना गर्न उत्साहित हुन्छन । उनले बताईन ।
मानमटेरिया गाविस सचिव बब्रुबहन सापकोटाले गाविसको बजेटबाट केवटको घरमा धारा जडान गरे पनि उनले सबैले सार्वजनिक रुपमा प्रयोग गर्न पाउने गरि कबुलियत गरेकोले कसैलाई पनि पानी खान राक्न नपाउने बताए ।
जातीय बिभेद गर्नेलाई कार्यवाही गरि पाउ भनि हरिजनले दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दर्ता गरि अनुसन्धान प्रकिया समेत अगाडी बढि सकेको अनुसन्धान अधिकृत प्रहरी निरिक्षक प्रदीप बहादुर क्षेत्रीले जनाए ।

Leave a comment